नेपाल र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता, धार्मिक सांस्कृतिक पर्यटन प्रवर्द्धनबारे छलफल

Image
उपराष्ट्रपति यादव र भियतनामकी उपराष्ट्रपति सुआन बीच भेटवार्ता काठमाडौँ, ८ भदौः उपराष्ट्रपति रामसहायप्रसाद यादव र समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन आइतबार काठमाडौँमा भेटवार्ता गर्नुहुँदै । नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा उहाँ तीनदिने औपचारिक भ्रमणका लागि काठमाडौँ आउनुभएको हो । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालको तीनदिने औपचारिक भ्रमणमा आएकी भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीच प्रतिमण्डलस्तरीय भेटवार्ता भएको छ।

भेटमा उनीहरुबीच दुवै मुलुकमा धार्मिक समानता रहेको र धार्मिक र सांस्कृतिक पर्यटनका प्रचुर सम्भावनाबारेमा छलफल भएको थियो। उनीहरुबीच मित्रवत्, न्यानो र सौहार्द रुपमा सम्पन्न भेटवार्ता भएको जानकारी गराउँदै परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश अधिकारी द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयका बारेमा विचार आदानप्रदान भएको बताए।

दुवै मुलुकबीचको सम्बन्ध मित्रता, सद्भावना र सार्वभौमिकताको सम्मानमा आधारित रहेको र अन्तर्राष्ट्रिय मञ्चमा साझा धारणाका साथ अघि बढ्ने सम्बन्धमा उनीहरुबीच कुराकानी भएको थियो।

दुवै उपराष्ट्रपतिबीच मन्त्रालयगत र विभिन्न तहमा भ्रमण आदानप्रदान गर्ने सहमति भएकोसमेत भएको छ। सो अवसरमा दुवै मुलुकबीच हवाई सम्बन्ध विस्तारका लागि आपसी छलफल गर्ने विषयमा कुराकानी भएको सहसचिव अधिकारीले बताए।

भियतनाम उच्च आर्थिक वृद्धिदर भएको मुलुक भएकाले नेपालले त्यहाँबाट सिक्नसक्ने र लगानीको सम्भावनाका विषयमा उनीहरुबीच छलफल भएको सहसचिव अधिकारीले बताए। द्विपक्षीय व्यापार, लगानी, डिजिटल प्रविधिलगायत विषयमा र जनस्तरको सम्बन्ध अघि बढाउने विषयमा उनीहरुबीच कुराकानी भएको थियो।

भियतनामका तर्फबाट यो पहिलो उच्चस्तरीय भ्रमण हो। यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ।

उपराष्ट्रपति भो थि आन सुआन उपराष्ट्रपति यादवको मैत्रिपूर्ण निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार यहाँ आइपुगेकी हुन्। उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी भदौ ९ गते स्वदेश फिर्ता हुने तालिका छ।

 
प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन