विज्ञानदेखि पृथक् होइन बुद्ध शिक्षा

Image

बुद्ध र बुद्धको शिक्षा आस्था, विश्वास वा परम्परामा आधारित हुनुहुँदैन । बुद्धका विचार र शिक्षामाथि परीक्षण गर्न सकिन्छ । ‘धर्म भनेको व्यक्तिकोे आस्थाको कुरा हो, यसमाथि प्रश्न गर्नु हुँदैन, यो छलफलको विषय पनि होइन र परम्पराको विरुद्ध जाँदा पाप लाग्छ’ भन्ने खालको दृष्टिकोण गौतम बुद्धको शिक्षाले दिने होइन । बौद्ध धर्मले स्वतन्त्र रूपमा चिन्तन तथा अभ्यास गर्न भन्दछ । ‘कुनै ग्रन्थमा लेखिएको वा कसैले भनेको भरमा विश्वास गरी त्यसको भावभक्ति ग¥यो भने मात्रै धर्मलाभ हुन्छ, नत्र पाप लाग्छ’ भन्ने मान्यता बुद्धको शिक्षा अनुकूल होइन; विपरीत चाहिं हो ।

यस धर्ममा कुनै पनि विषयमा चिन्तनमनन गर्न जोड दिइन्छ । एक्लैको चिन्तनमनन बाहेक जिज्ञासु तथा विज्ञहरूका बीच हुने छलफल ‘धम्मसाकच्छा’ लाई पनि त्यहाँ प्रोत्साहित गरिन्छ । यसलाई बौद्ध समाजको ‘आदर्शन’ अभ्यास पनि मानिन्छ । बुद्धले आफ्नो शिक्षाको भरपूर मात्रामा परीक्षण होस् भनेर ‘सुनारले सुन जाँचे जसरी जाँचेर ठिक लाग्यो भने मात्रै अपनाउनु तथा नलागे नअपनाउनु’ भनेको कुरा प्रसिद्ध नै छ । यो प्रसंग ‘कालामसूत्र’मा पढ्न पाइन्छ ।

अल्वर्ट आइन्स्टाइन, बर्टेन्ड रसेल लगायतका वैज्ञानिक तथा दार्शनिकहरूले आधुनिक विज्ञानसँग सबैभन्दा नजिकको धर्म वा शिक्षा भनेर बौद्ध धर्मको प्रशंसा गरेको समयभन्दा पनि अघि बढेर अहिले यस क्षेत्रको निकै गहन अध्ययन–अनुसन्धान भइसकेको छ । बौद्ध धर्म वा शिक्षाको अभ्यास पक्षको रूपमा रहेको ‘ध्यान’ को विषयमा वैज्ञानिक प्रयोगशालामा समेत अनुसन्धान हुँदैछ; जसबाट ‘न्यूरो साइन्स’ ले फड्को मार्ने अपेक्षा छ । यसरी नै, आधुनिक विज्ञानको ठूलो उपलब्धि मानिने ‘साइकोलोजी’ का अध्येताहरू बौद्ध दर्शनको ‘अभिधम्म’ प्रति नतमस्तक छन् । बुद्धको गहनतम शिक्षा भनेको मनको विश्लेषण हो । यसले मानव लगायत समस्त प्राणीको जीवनप्रवाह भौतिकवादी जीवन दर्शनले भन्ने गरे जस्तो यही एक जुनीमा मात्रै सीमित छैन भन्ने जनाउँछ ।

– विषय सामग्री बसन्त महर्जनद्वारा शिक्षा मासिकमा लिखित लेखबाट साभार

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन